
सांस्कृतिक सम्पदाको पूनर्निर्माण तथा प्रचारमा सहकार्य गर्ने प्रतिवद्धता
नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा विकासमा सबै स्थानीय तहको उच्च प्राथमिकताका साथ साझा कार्यक्रम बन्नुपर्नेमा जोड दिईएको छ । पर्य सम्पदा परियोजनाले राजधानीमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिका, महालक्ष्मी ठिमी, चन्द्रागिरि र गोदावरी नगरपालिकाका नगरप्रमुखले सो विषयमा प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
वि स २०७२ सालको भूकम्प पश्चात सम्पदा क्षेत्रको विकास तथा पूनर्निर्माणको विषयले प्राथमिकता पाएसगैँ यसको संरक्षण तथा प्रचारमा सबैको ध्यानकर्षण भएको छ । कार्यक्रमका प्रमुख अतिथी ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जनले मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा महानगरले मठ मन्दिर, स्तूपाको निर्माण, जात्रा तथा पर्वको निरन्तरता दिएको बताउनुभयो । उहाँले सम्पदा पूनर्निर्माणको गुणस्तर कायम गर्न १० करोड रकम बराबरको कार्यलाई टेण्डर प्रक्रियामा जानु नपर्ने निर्णयले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । सम्पदा तथा संस्कृति मानव सभ्यतासगँ प्रत्यक्ष जोडिएको विषय रहेकाले यस अभियानमा सबै स्थानीय तहलाई हातेमालो गर्न आग्रह गर्नुभयो । ललितपुर महानगरले साईकल लेनको विकास र विस्तारमार्फत सिमाना जोडिएको पालिकाससगँ सहकार्य गरेको स्मरण गर्नुभयो ।
यूएन ह्याबिट्याटले संचालन गरेको पर्य सम्पदा परियोजनाको सम्बँधमा जानकारी गराउदै प्रमुख प्रज्ञा प्रधानले ले बुगंमती र अन्य सम्पदा क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको निर्माण तथा संरक्षणमा परियोजनले गरेको कामबारे बताउनुभयो । उहाँले सबै स्थानीय तहको प्राथमिकतामा सम्पदा तथा सांस्कृतिक पयर्टनले महत्व पाएमा यसलाई संस्कृतिको जगेर्ना मात्र नभई आय आर्जनको दृष्टिकोणबाट पनि हेर्न सकिने बताउनुभयो ।
यूएन ह्याबिट्याटल र लुमन्ती संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले करिब २ दशकको समयपश्चात जनप्रतिनिधिको आगमन भएको र सम्पदाको निर्माण तथा विकास आफैमा प्राविधिक विषय रहेकाले यसमा सामुहिक सहकार्य आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले हिटी, फल्चा, मन्दिर तथा गुठी संरक्षणलाई बजेट, नीति तथा कार्यक्रम मार्फत महत्व दिएको र यसको निरन्तरतामा चासो राखेको छ ।
स्थानीय सरकारको अभ्यास नौलो हुदै गर्दा धेरै जिम्मेवारीको संहाल्न बाध्य रहेको स्मरण गर्दै मध्यपूर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले पर्य सम्पदा परियोजनाका अध्ययन विधि र ढाचाँ प्रभावकारी रहेको बताउनुभयो । सम्पदा क्षेत्र पहिले सम्बन्धित जातिको संस्कृति सभ्यतासँग जोडिएको र दोस्रो चरणमा पयर्टन क्षेत्रमार्फत आय आर्जनको सम्भावना रहेको बताउनुभयो । काठमाडौ उपत्यकाका सबै सम्पदाको पृथक धार्मिक तथा सास्कृतिक महत्व रहेकाले यसमा एक अर्काको सिकाईलाई आधार मान्नुपर्ने देखिएको छ ।
उपत्यका प्रवेशको मुख्य नाका रहेको चन्द्रागिरि नगरपालिका प्राकृतिक तथा सांस्कृतिक पर्यटनका थूप्रै स्थल रहेको छ । नेपाल सरकारले छनौट गरेको उत्कृष्ट १०० पर्यटकिय स्थलमध्य चन्द्रागिरिको डाडाँ समेत परेको विषय स्मरण गर्दै नगर प्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकाले सम्पदा संरक्षणमा योगदान गरेको बताउनुभयो । लुमन्ती संस्थाले पर्य सम्पदा परियोजना मार्फत बलम्बु तथा किसिपिडीको विस्तृत अध्ययन प्रतिवेदनले एउटा आधार निर्माण गरेको र क्रमिक रुपमा सम्पदा क्षेत्रको विकास निर्माणलाई निरन्तरता दिने बताउनुभयो ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले अमूर्त सम्पदाको संरक्षण गर्न नेवार संग्राहलय, अन्र्तराष्ट्रिय धार्मिक संग्राहलय र तामाङ्ग संग्राहलय निर्माणमा जुटेको छ । विभिन्न जात्रा तथा पर्वमा युवा तथा महिलाको सहभागिता बढाउदै धार्मिक पर्यटनको बिस्तारमा नयाँ पूस्तालाई संलग्न गराएको प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । परियोजनाले सिद्धिपुर र लुबुमा गरेको अध्ययनले सम्पदा क्षेत्रको व्यवस्थित विकासमा सहयोग पुगेको छ ।
कीर्तिपुर नगरपालिकाका सम्पदा संरक्षण संयोजक रविन मान डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा अभियन्ता तथा नागरिकको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले कीर्तिपुर क्षेत्रको मठ मन्दिर तथा पोखरीको पूर्नर्निमाणमा नगरपालिकाको चासो राखेको र फोहोरमैला व्यवस्थापन तथा हरित विकासको अवधारणले सबैको चासो रहेको व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै शहरी विकास विज्ञ पद्य सुन्दर जोशीले दीगो विकासको अवधारणा अनुरुप सम्पदा स)रक्षणमा भित्रिएका नविनतम सिकाई तथा अन्र्तराष्ट्रिय अभ्यासलाई सबै स्थानीय तहले मनन् गर्न आवश्यक रहेको र मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा प्राचिन महतव तथा प्राविधिक ज्ञान भएका जनशक्तिको आवश्यकता रहेका सुझाउनुभयो । उहाँले स्थानीय तहले विभिन्न फोरम तथा प्लेटफर्म मार्फत यस्ता चालचलन तथा सम्पदाको प्रचारमा विशेष योगदान दिएमा आय आर्जनको बलियो आधार बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा परियोजनाले प्रकाशन गरेका पूस्तक बिमोचन गर्नुका साथै, मोबाईल एप्लिकेशन तथा सम्पदा बस्तीका नक्साहरु सम्बन्धित नगरपालिका र वडाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
सांस्कृतिक सम्पदा निश्चित व्यक्ति वा समुदायको मात्र सम्पत्ती बन्न नहुने विषयमा स्पष्ट पार्दै लुमन्ती संस्थाकी प्रमुख लजना मानन्धरले सम्पदा संरक्षणमा सामुहिक प्रयास र प्रतिवद्धताको कार्यान्वयन गर्न सबै स्थानीय सरकारका प्रमुखलाई आग्रह गर्नुभयो । पर्यसम्पदा परियोजनाले विगत ४ वर्षदेखि मूर्त सम्पदाको निर्माण एवं विस्तारमा सहयोग गर्दैस्थानीय नागरिकलाई उद्यम स्थापना तथा संचालनमा सहयोग गर्दै आएको छ ।